धार्मिक सहिष्णुता हाम्रो विशेषता 
Gharmik Sahishnuta Hamro Visheshta


नेपालीहरू धर्म संस्कृति र परम्परामा विश्वमै समृद्ध छन् । हाम्रो संस्कृति र परम्परा हाम्रा पुर्खाहरूले हामीलाई दिएर गएको सबैभन्दा ठूलो पहिचान हो । हामीले यस्ता पहिचानप्रति गर्व गर्न सक्नुपर्दछ । यस्ता परम्परा र संस्कृतिले हामी जुनसुकै स्थानमा बस्न पुगेता पनि परम्परा र संस्कृतिले हाम्रो मौलिक पहिचान दिइरहेको हुन्छ ।


हाम्रो देशमा विभिन्न धर्म र संस्कृतिलाई मान्ने सम्प्रदायहरू बसोवास गर्छन्। एक धर्म मान्ने व्यक्तिले अर्को धर्म मान्ने व्यक्तिलाई सम्मान गर्ने सभ्यतालाई धार्मिक सहिष्णुता भनिन्छ । अर्को शब्दमा सबै धर्मबीच समान भाव राख्नु धार्मिक सहिष्णुता हो ।


विभिन्न जातजातिको सुन्दर फूलबारीको रूपमा परिचित हाम्रो देश नेपाल धर्म र संस्कृतिमा विश्वकै उदाहरणीय देशमध्येमा पर्छ । नेपालको मिश्रित समाज र यहाँ रहेका नानाथरीका सांस्कृतिक पहिचानले हाम्रो विशिष्टता विश्वसामु छर्लंगिएको छ ।


यहाँका हरेक जातजातिमा आ–आफ्नै प्रकारका मौलिक परम्परा र विशेष संस्कृति छन् । हरेकले आफ्नो धर्म संस्कृतिलाई स्वतन्त्र रूपमा मान्ने  अर्काको चाडपर्व तथा सांस्कृतिक कार्यक्रममा सक्रिय रूपमा सहभागिता जनाएर एक सम्प्रदायले अर्को सम्प्रदायको धर्म र संस्कृतिलाई सम्मान गर्ने नेपाली परम्परा विश्वकै उदाहरणीय मानिन्छ ।


हाम्रो राष्ट्रिय गानमा समेटिएको ‘सयौँ थुंगा फूलका हामी एउटै माला नेपाली’ भन्ने पंक्तिले पनि हाम्रो धार्मिक सहिष्णुतालाई देखाउँछ । वर्षभरिमा विविध प्रकारका चाडपर्व धार्मिक उत्सव मेला हुन्छन्, जसमा जातिय पर्वहरू पनि धेरै छन् । ती सबै पर्व तथा उत्सवहरूमा एकले अर्काको सम्मान गर्ने, शुभकामना दिने सम्भव भएसम्म सहभागी भएर सहिष्णुताको उदाहरण प्रस्तुत भइरहेका छन् ।


तराईमा मनाइने छठ पर्वलाई तराईवासीले मात्र मनाएर एक भेग र एक जाति विशेषमा मात्र सीमित नराखी पहाड र उपत्यकामा पनि धुमधामकासाथ मनाइन्छ । पहाडमा मनाइने उधाैँली उभाैँलीलाई पनि देशभर छरिएर रहेका सबै सम्प्रदायले खुसी साटासाट गरेर मनाउने हाम्रो परम्परा छ ।


यस्ता, पर्वमा समाजका सबैले उत्साहपूर्वक सहभागिता जनाए अत्यन्तै सौहार्दपूर्ण ढंगले अगाडि बढ्ने हाम्रो संस्कृति संसारमै उदाहरणीय छ । एक सय भन्दा बढी जातजाति त्यत्तिकै संख्यामा रहेका भाषाभाषीले सजिएको सुन्दर, शान्त देश नेपालमा धार्मिक सहिष्णुताले आपसमा सद्भाव, सहयोग सहभागितापूर्ण वातावरण निर्माण गरेको छ।


धार्मिक सहिष्णुताकै कारण यहाँ जात, सम्प्रदाय र धर्मका नाममा झगडा र जातिय, साम्प्रदायिक धार्मिक हिंसा भएको छैन । सबैले शान्तपूर्वक आ–आफ्नो पेसा व्यवसाय सञ्चालन गरेर बसिरहेका छौँ । पहिला–पहिला तराईवासीले मात्र मनाउने छठ पर्व अचेल पहाड हिमालका महिलाहरूले पनि उत्तिकै श्रद्धाभावले मनाउने चलन बढ्दै गएको छ । यो पनि धार्मिक सहिष्णुताको एउटा उदाहरण मान्न सकिन्छ।


तीजजस्तो पर्वमा अहिले अन्य धर्मका महिलाहरूको पनि आकर्षण बढीरहेको छ । यस पर्वमा गैरहिन्दू महिलाहरूकोसमेत सहभागिता र बाक्लो उपस्थिति देख्न सकिन्छ । पूजा र व्रतमा सहभागी नभए पनि गैरहिन्दू महिलाहरू अहिले तीजमा दर खाने र तीजको पोसाकमा सजिएर गीत गाउँदै नृत्यमा रमाइरहेका हामीले देख्दै आइरहेका छौँ । यही नै धार्मिक सहिष्णुताको उत्कृष्ट उदाहरण हो ।


सुदूरपश्चिम क्षेत्रका विभिन्न भेगमा मनाइने गौरा देउडा गीतमा सद्भाव जनाउँदै अन्य क्षेत्रमा बसोवास गर्ने मानिसहरूलेसमेत सहभागिता जनाए काठमाडौंको टुंडिखेलमा भव्यताकासाथ मनाउने परम्परा छ । तीज, जितीया पर्व, दशैं, तिहार, होली, शिवरात्रि, ल्होसार, गाईजात्र र इन्द्रजात्रा आदि सबै पर्वमा सबैको सद्भाव र सहभागिता हुनुले पनि नेपालीमा धार्मिक सहिष्णुता रहेको प्रस्ट हुन्छ ।


नेपालीको छुट्टै महत्वपूर्ण विशेषता भनेकै सहिष्णुता पूर्वक सम्पूर्ण पर्व तथा उत्सवमा हरेकले सहभागिता जनाएर आपसमा मेलमिलाप बढाउनु हो । धेरै पर्व  जातजाति भएको देशमा सबै पर्वमा हरेकको समान सहभागिता रहनु भनेको सामान्य कुरा पक्कै होइन । त्यसैले, यहाँ सरकारको तर्फबाट पनि धार्मिक सहिष्णुतालाई जोगाइराख्न हरेक धर्म र सम्प्रदायको चाडपर्वमा सार्वजनिक विदा दिएको हुन्छ ।


हिन्दूहरूका विशेष चाडपर्वदेखि लिएर इसाइ धर्मावलम्बीहरूले मनाउने क्रिसमस, बौद्धधर्महरूले मनाउने विभिन्न ल्होसार पर्वहरू, मुस्लिम धर्ममा आस्था राख्ने नागरिकहरूले मनाउने विभिन्न प्रकारका इद तथा रमजान आदि पर्वमासमेत सरकारले सार्वजनिक विदाको घोषणा गरेको हुन्छ । यसले हाम्रो देशको धार्मिक सहिष्णुतालाई स्पष्ट पार्दछ ।


नेपालको विशेषता र पहिचानको रूपमा रहेको धार्मिक सहिष्णुतालाई अझै मजबुत पार्ने कार्यमा सबै सजग रहनु पर्छ । संस्कृति र धर्म एक अर्काकाका पूरक भएको हुँदा धार्मिक रूपले सद्भाव कायम गरी हाम्रो विशेष पहिचानलाई अझै उचाइमा पुर्याउनु हामी सबैको साझा कर्तव्य पनि हो ।