भानुभक्त आचार्य
Bhanubhakt Aacharya


नेपाललाई आदिकवि भानुभक्त आचार्यले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । वि.सं. १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।


'वधुशिक्षा' उनको प्रसिद्ध कृति हो । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र 'भोलिवाद'का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए-

'भोलि भोलि भन्दैमा सब घर बितिगो

बक्सियोस् आज झोली' ।


नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली साँस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनामा भानुभक्तको ऐतिहासिक योगदान छ । अयोध्याका राजा रामको जीवनीलाई सरल नेपाली भाषामा लेखिएको 'रामायण'मार्फत प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । रामायण अहिले पनि नेपालीहरूको घर-घरमा सस्वर लय हालेर पाठ गरिन्छ ।


त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । भानु जयन्तीका दिन भानुभक्तको फोटोलाई रथारोहण गराई राजधानीका विभिन्न ठाउँमा प्रभातफेरिको आयोजना वि. सं. २०३४ देखि गर्ने गरिएको छ ।


आदिकवि आचार्यको जन्मस्थल तनहुँ चुँदीरम्घास्थित ऐतिहासिक घर २०६० साल वैशाख ११ गतेदेखि तीन दिनसम्म लगातार जङ्गलमा लागेको आगोका कारण जलेर पूर्णरूपमा ध्वस्त भयो । त्यसको पुनःनिर्माण हुन सकेको छैन । डुम्रे-बेसीशहर सडकलाई भानुभक्त आचार्य मार्ग नाम दिइएको छ । उक्त मार्ग ४२.७७ कि.मि. लामो छ ।