सूचना प्राविधिकों महत्व 
Information Technology Importance

सूचना भन्नाले सम्बन्धित सरोकारवालालाई जानकारी दिने काम भन्ने बुझिन्छ । प्रविधिको अर्थ हो काम गर्दा अँगालिने प्रक्रिया वा तरिका हो। अतः सूचना प्रविधिलाई समान्यीकरण गरेर हेर्दा विविध तरिका वा प्रक्रिया हो । यसरी नै महत्त्व भन्नाले महत्ता अथवा महान् हुनुको भाव भन्ने बुझिन्छ । आज सूचना प्रविधिको महानता कति छ ? भन्ने कुरा यस निबन्धको शीर्षकको आशय हो । यसलाई यसरी पनि भनौं कि आज जानकारी दिने सूचना र सञ्चारका प्रक्रियाहरू टेलिभिजनबाट दिइने जानकारी, इमेल, इन्टरनेट, फ्याक्स, कम्प्युटर आदिले जुन प्रक्रियाबाट जानकारी दिने गरेको छ, त्यो अति आवश्यक छ। कुनै व्यक्ति, वस्तु वा विषयसँग सम्बन्धित तथ्य वा वर्णन नै सूचना हो । कुनै विचार वा अनुभूति व्यक्त गर्ने र अन्य व्यक्तिसम्म सूचना पुयाउने कामलाई सञ्चार भनिन्छ। सूचनाको प्रयोग एवम् सञ्चारका दृष्टिले मानिस सबैभन्दा उत्कृष्ट प्राणी हो। हुन त मानिसबाहेक अन्य प्राणीमा पनि सूचनाको सञ्चार गर्ने र त्यसप्रति प्रतिक्रिया व्यक्त गर्ने प्रकृतिप्रदत्त क्षमता हुन्छ, तर सूचनाको प्रयोग एवम् सञ्चारका दृष्टिले मानिसमा जत्तिको विकसित हुँदैन । मानिसले गर्ने अनुभव र विचार वा सूचनाको आदानप्रदान एकोहोरो र दोहोरो दुवै किसिमको हुन्छ । सूचनाको सञ्चारका लागि तीनओटा पक्षहरूको आवश्यकता पर्दछ प्रेषक, प्रापक र माध्यम । सूचना प्रेषकदेखि प्रापकसम्म आइपुग्न माध्यमको आवश्यकता पर्दछ । प्रेषकले पठाएको सूचना प्रापकसम्म आइपुग्ने माध्यमलाई सञ्चार भनिन्छ । यसमा बाधा हुनुहुँदैन । प्रविधिले प्रेषक र प्रापकबीच सञ्चार गराउने माध्यमलाई थप सरल र प्रभावकारी बनाउँछ। परिवर्तित समयमा आज बसीबसी टेलिफोनबाट विश्वका कुनाकुनासम्म समाचारको आदानप्रदान हुन्छ । घरको कोठामा विश्वका अति महत्त्वपूर्ण पत्रपत्रिका, लेखहरू, महत्त्वपूर्ण लेखोटहरू पनि उपलब्ध गर्न सकिन्छ । फ्याक्स गरेर अति संवेदनशील कागजातहरू र चिठीका प्रतिलिपिहरू चाहेको ठाउँमा पुऱ्याउन सकिन्छ। नेट इन्टरनेटका माध्यमबाट च्याट हुने हुनाले मानिसहरूसँगको निकटता बढेको छ । परिचय पत्र नै टङ्कण गर्नासाथ कसैको खातामा कति रकम जम्मा छ थाहा पाउन सकिन्छ । आज रेडियोले नयाँ खबरहरू सुनाउनु, कम्प्युटरबाट हेर्न चाहेको दृश्य र श्रृव्यसामग्री समेत प्राप्त गर्न पाउनु विद्यार्थीहरूले आफ्नो पाठ्यसामग्रीसँग सम्बन्धित पाठहरू श्रव्य दृष्य सामग्रीबाट पढ्न पाउनु, हरेक कार्यालयले आफ्नो हिसाब र अभिलेख चुस्त दुरूस्त राख्न सक्नु, कामदारले विदेशमा जम्मा गरेको रकम स्वदेशमा आफ्ना आफन्तले पाउनु जस्ता कुरा अति सामान्य भइसकेका छन् । यसरी सूचना प्रविधिले मान्छेको यात्राको दुरी घटाइदिएको जस्ता धेरै समस्याहरू हल गर्न मद्दत गरिआएको हुँदा यसको महत्त्वलाई जति बयान गरे पनि कमै हुन्छ। सूचना प्रविधि आज मानिसको साथी बनेको छ । सूचना प्रविधिले मानिसलाई धेरै प्रकारका कार्यमा महत्त्वपूर्ण सहयोग पुयाएको हुँदा यसको दुरूपयोग गर्नु हुँदैन । नयाँनयाँ प्रविधिको विकासका साथै कतिपय विकृतिहरू पनि यसबाट भित्रिने सम्भावना भएकाले यसतर्फ त्यत्तिकै सचेत तथा सतर्क हुन जरूरी छ। जे होस् यसको सकारात्मक पाटोपाई मात्र उपपयोग गर्ने हो भने यसलाई मानिसको अभिन्न मित्रका रूपमा लिन सकिन्छ । सूचना प्रविधिले मानिसलाई सरल जीवनयापन गर्न सहयोग पुयाएको हुनाले यसको प्रयोगमा ख्याल गर्नु पर्दछ।