समयको महत्व 
Samayko Mahatva


समय भनेको बेला, काल र क्षण पनि हो । समयलाई देख्न र छुन सकिँदैन । अनुभव मात्र गर्न सकिन्छ । समयको सुर र अन्त्यका बारेमा भन्न सकिन्न । मानिसले समयलाई आफ्नो सुविधाका लागि सेकेन्ड, मिनेट, घन्टा, दिन, हप्ता, महीना र वर्ष भनेर वर्गीकरण गरेका छन् । समय निरन्तर रूपमा चलिरहन्छ। यो कहिल्यै रोकिँदैन। समयको पालना नगर्नाले मानिस पछाडि पर्ने हुनाले मानिसका लागि समयको धेरै महत्व छ। आजको बालक समय बित्दै जाँदा युवा, वृद्ध बन्दै जान्छ र एकदिन मृत्युको मुखमा पुग्छ । मानिसले बिहानको सुर्योदयसँगै आफ्नै क्रियाकलाप सुरू गर्छ अनि विद्यालयमा पुग्छ भने शिक्षक पनि ठिक समयमा कक्षाकोठामा प्रवेश गर्छ। किसान पनि आफ्नो खेतबारीमा काम गर्न ठिक समयमा त्यहाँ पुग्छ । जो मानिसले समयको पालना गर्दैन त्यसले आफ्नो गन्तव्य भेट्टाउँदैन। समयको परिवर्तन सँगै मानिसले आफ्नो जीवन शैलीमा परिवर्तन ल्याउँछ । जाडो याममा बाक्ला वा न्यानो कपडा लगाउनु, गर्मीमा पातला कपडा लगाउनु, समयको परिवर्तनका कारण हुन् । समयको पालना गरेर नै आज संसारमा मानिसहरूले नाम, दाम कमाएका छन् । समयको महत्वलाई बुझेर अगाडि बढ्ने मानिस जनुसुकै क्षेत्रमा पनि सफल हुन्छ । तर समयको महत्वलाई नबुझ्ने मानिसले सफलता प्राप्त गर्न सक्दैन । समयमै हामीले हाम्रा कामहरू गर्नुपर्छ । आजको विद्यार्थी समयको ठिक पालनाबाट नै भविष्यको डाक्टर शिक्षक, इन्जिनियर, पाइलट बन्न सक्छ। विद्यार्थी जीवनमा समयको धेरै छ। जुन विद्यार्थी समयको सदुपयोग गर्दैन त्यस विद्यार्थीले पढाइमा सफलता प्राप्त गर्न सक्दैन । एउटा विद्यार्थी कक्षामा समयमा उपस्थित नहुने कक्षाकार्य नगर्ने र गृहकार्य समयमा नगर्ने विद्यार्थी गुरूहरू वा अरू विद्यार्थीहरूकै नजरमा पनि असल मानिँदैन । भनिन्छ -बगेको खोला फकदैन समयले पर्खदैन । त्यसैले जुन काम जुन समयमा आफ्नो अगाडि आउँछ त्यसलाई ठिक समयमा पूरा गरिहाल्नुपर्छ । त्यसैले समयको महत्वलाई बुझेर अगाडि बढेमा हामी जीवनमा सफलताको शिखर चुम्न सक्छौँ ।