सरसफाइको महत्व 
Sarsafaiko Mahatva

सरसफाइ भन्नाले आफू सफासुग्घर रहनु, समयसमयमा नुहाइधुवाइ गर्नु, दाँत सफा राख्नु, नङ काट्नु, सफा लुगा लगाउनु, आफू वरिपरिको वातावरण स्वच्छ सफा राख्नु आदि कुरालाई जनाइन्छ । मानिस मात्र एक प्राणी हो जसलाई मात्र सरसफाइका बारेमा ज्ञान छ। जो मानिस सरसफाइमा ध्यान दिन्छ उसको जीवन स्वस्थ र निरोगी बन्छ। निरोगी भएपछि जस्तोसुकै कामहरू पनि सजिलैसँग गर्न सक्छ । मानिसको स्वास्थ्य राम्रो भएपछि असल विचार आउँछ। जो मानिसले असल बनी असल काम गर्छ त्यो व्यक्ति राष्ट्रको सच्चा नागरिक हो । सरसफाइ मानिसका लागि धेरै आवश्यक छ । सरसफाइमा ध्यान नदिएमा हामी रोगी र दु:खी बन्न सक्छौँ । सुखी र निरोगी भई बाँच्न सरसफाइको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले सबै प्रकारका फोहोरबाट बचेर सफासुग्घर भएर बस्नु हाम्रो मुख्य जिम्मेवारी हो । कर्तव्य हो। शौचालय गएपछि होस् वा खाना खानुअघि पछि राम्ररी हात धुने बानी बसाल्नु पर्छ । गर्मीको समयमा आवश्यकताअनुसार दिनदिनै र जाडोको समयमा दुई या तीनपटक नुवाइधुवाइ गर्नुपर्छ । आफूले दैनिक रूपमा प्रयोग गर्ने ब्रस, काइयो, रूमाल, मोजा नियमित रूपमा सफा गर्नुपर्छ । फोहोर जताततै फाल्नु हुँदैन । फोहोरलाई उचित ठाउँमा व्यवस्थापन गर्ने काम पनि सरसफाइ भित्र पर्दछ। हामीले खानेकुरा पनि सफा खानुपर्छ । खानेकुरा राम्ररी धोइपखाली गरेर मात्र खानुपर्छ। सडेगलेका र फोहोरी खानेकुरा खानुहुँदैन । यस्ता खानेकुराको प्रयोगले हामी रोगी बन्न सक्छौँ । यस्ता खानेकुराले हाम्रो शरीरलाई ठूलो क्षति पुयाउँछ । हामीले प्रयोग गर्ने पानी शुद्ध र किटाणुरहित हुनुपर्छ । मानिस आजकल आफ्नो काममा निकै व्यस्त भएका कारण आफ्नो शरीर र वातावरण सरसफाइमा ध्यान पुऱ्याउँदैनन् । जसले गर्दा मानिस अस्वस्थ बन्दै गइरहेका छन् । सबै मानिस आफ्नो र वातावरणको सरसफाइमा लागेमा रोगहरू लाग्न पाउँदैन। वर्तमान समयमा जनसङ्ख्या वृद्धि, वन फँडानी उद्योग, कलकारखानाको वृद्धि आदि कारणले वातावरण प्रदूषण भइरहेको अवस्था छ । यस्तो अवस्थामा हामीले विभिन्न तरिका अपनाई प्रदूषण कम गर्नुपर्छ । हामी दिनदिनै सरसफाइमा लागेर स्वस्थ बन्न सक्छौँ । लेख्न पढ्न तथा असल काम गर्न सक्छौँ, आफूभन्दा साना व्यक्तिलाई हामीले सरसफाइका बारेमा सिकाउनुपर्छ । ठूला व्यक्तिसमेत यस कुरामा अबुझ छन्भ ने सम्झाउनु पर्छ। हामी बालबालिका युवा, वृद्ध, विद्यार्थी जे भएपनि सरसफाइलाई अपनाउनुपर्छ । विद्यार्थी सचेत व्यक्ति भएकाले उनीहरूले अरू मानिसहरूलाई सरसफाइका बारेमा बुझाउनुपर्छ । सरसफाइ भनेको सभ्यता हो भन्ने कुरा बुझेर देशको सभ्य नागरिकको परिचय दिनुपर्छ।