मेरो देश नेपाल
Mero Desh Nepal


हिमालको सेतो फेटा, पहाडको हरियो भोटा र तराईको पहेँलो कछाड फेरेर बसेको मेरो देश मेरो मुटुको टुक्रा हो । सिन्धुमा हराएको विन्दु जस्तै विश्वको भूमण्डलमा सानो देखिए पनि मेरो देश मेरो प्राकृतिक दृश्यले एकदमै सुन्दर र पवित्र छ । पूर्व मेची र पश्चिममा कालीको रेखा कोरेर उत्तरतर्फ हिमश्रृङ्खलाको प्राकृतिक पर्खाल लगाई स्वयम् प्रकृति नै मेरो देशको रक्षामा खटिएकी छिन् । यस देशको चार किल्लाभित्र प्रकृति रमाउँदै नाचेकी छिन् ।



सूर्यका सुनौलो र सुकुमोल किरणहरु जब हिमाललाई स्पर्श गर्दै आउँछन् । अनि मेरो देशमा उज्यालो देखिन्छ । रहस्यको सखर मेरो देश अनेकता भित्र एकता भएको देश हो विश्वभरिकै प्राकृतिक सौन्दर्यलाई जम्मा पारेर भगवान्ले यसै मुलुकमा खन्याएकी छिन् । “चार जात छतिस वर्णको फूलबारी” का रुपमा रहेको मेरो देशभित्र अनेक जातजाति छन् ।


शेर्पा नाच, गुरुङको रोदी, लिम्बुको धाननाच र नेवारको लाखेनाचले यहाँ अलग–अलग संस्कृति र जातिको परम्परा छन् । तर यहाँ ती प्रत्येक जातजातिरुपी रंगीबिरंगी फूलहरुका बीचबाट विभिन्न संस्कृतिहरुका माझबाट एउटा राम्री सौन्दर्य ज्योतिको प्रस्तुती भएको छ र नेपाली संस्कृतिको जन्म भएको छ । यहाँ बुद्धका भक्तहरु पशुपतिका दर्शनको लागि छट्पटिरहेका र पशुपतिका भक्तहरु गुम्बा दर्शनको लागि यति स्वच्छ भूमिभित्र पशुपतिनाथ र स्वयम्भूले रत्नपार्कको मस्जिदसँग डाह गर्दैनन् । गिरिजाघरको विरुद्ध लडाई गरेका छैनन् । यसरी धार्मिक सहिष्ण्ुताको मूल फुटेको देश हो मेरो देश । हाम्रो देश नेपालमा सबै बिच घनिष्ट सम्बन्ध रहेको छ । यसले हाम्रो देशलाई अरु भन्दा फरक र राम्रो बनाएको छ । सबैका बिचमा हुने सहिष्णुताको भावनाले हाम्रो देशमा एकअर्कालाई हेप्ने, इर्श्या र डाहा गर्ने, धर्म र संस्कृतिमा बेदभाव गर्ने जस्ता काम हुदैनन्।


नेपालमा कलकल बग्ने खोला र छंगछंग गर्ने झरनाको आवाजमा चराचुरुङ्गी चिरबिर स्वरको मिश्रणले एउटा राम्रो ध्वनी निस्किन्छ अनि त्यसबाट नसोचेको आनन्दको प्राप्त हुन्छ । मानिस जब प्रकृतिको यस्तो रमणीय ठाउँमा आफु भएको देख्छ तब उसलाई केही कुराको मोह, स्वार्थ रहदैन ।


यहाँ जब खोलाको पवित्र पानीको स्पर्श हाम्रो जिउसंग हुन्छ तब एक प्रकारको आनन्द महसुस हुन्छ। त्यो आनन्द र त्यस्ता पलहरु हामी विश्वमा कतै पनि भेटाउन सक्दैनौ। त्यसैले त रम्घाको पाखामा भानु उदाउँछन् गोसाइकुण्डको यात्रामा देवकोटा गुनगुनाउँछन्, अर्घौ अर्चले लेखनाथ जन्माउँछ, औँसीका काली रातमा पनि भोसिको टोलमा मोती चम्कन्छन् । प्रकृतिको वातावरणले सिंगारिएका पहाडको स्वच्छ हावा र चिसो पानीले राता राता गाला भएका पहाडीहरु जब मुस्कुराउँछन् अनि त मोनालिसाको सौन्दर्य पनि पानी बन्छ ।